काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएसँगै मतपरिणाम क्रमशः सार्वजनिक हुन थालेको हो।
हालसम्म जिल्ला–नगर खुलातर्फको नतिजा सार्वजनिक भइसकेको छ। यसतर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।
यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन् भने द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्।
महासङ्घको यस निर्वाचनमा कुल ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा छन्। विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था छ। बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि मतगणना जारी रहेको छ।
साधारणसभाबाट निर्वाचित कार्यसमितिले पछि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ।