काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित भित्री कच्ची सडकखण्ड, काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा तथा रोशी गाउँपालिका–७ घुमाउने–चारसयबेँसी क्षेत्रमा पर्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरी का केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अघिल्लो बाढी र पहिरोका कारण अवरुद्ध भएका केही सडक भने आंशिक रूपमा सञ्चालनमा आएका छन्। भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ।
वर्षायाममा बाढी–पहिरोको जोखिम उच्च हुने भएकाले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालन भएका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।