काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरूबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न आर्थिक, प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गरेको छ।
बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्—
वैदेशिक सहायता स्वीकार
विश्व बैंक बाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय भएको छ। यो सहयोग उद्योगमा इलेक्ट्रोनिक बोइलर प्रवर्द्धन, वायु गुणस्तर मापन क्षमता विस्तार लगायतका क्षेत्रमा उपयोग गरिनेछ।
मल खरिद स्वीकृति
भारत सँग जी–टु–जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ।
सिंहदरबार गुरुयोजना स्वीकृति
सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको छ, जसमा संसद् भवन प्रवेश व्यवस्थालगायत विषय समेटिएका छन्।
संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस
संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपति समक्ष पुनर्विचारका लागि फिर्ता भएपछि पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरिएको छ।
सरकारले यी निर्णयहरूलाई आर्थिक सुधार, प्रशासनिक व्यवस्थापन र विकास परियोजना कार्यान्वयनसँग जोडिएको बताएको छ।