मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेपाल रेडक्रसद्वारा युवा–महिला नेतृत्व प्रवर्द्धन, उम्मेदवारी दर्ता निःशुल्क

सोमबार, बैशाख २१ २०८३

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी ले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष प्रोत्साहन गर्ने नीति अघि सारेको छ। सोसाइटीले अध्यक्ष, सभापति, महामन्त्री, महासचिवलगायत प्रमुख पदहरूमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरेको जनाएको छ।

१८ देखि ३० वर्ष उमेर समूहका युवा तथा महिलालाई नेतृत्वमा ल्याउने लक्ष्यसहित सोसाइटीले आफ्नो विधानमार्फत न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ले समेत सदस्य संस्थाहरूमा महिला र युवाको नेतृत्वदायी भूमिका सुदृढ हुनुपर्नेमा जोड दिँदै आएको छ।

विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहमा महिला तथा युवा प्रतिनिधित्व अनिवार्य गरिएको छ। केन्द्रीय समितिमा २१ सदस्य रहने व्यवस्था छ, जसमा एक महिला उपाध्यक्ष र पाँच महिला सदस्य रहने प्रावधान छ। त्यस्तै प्रदेश, जिल्ला र पालिका समितिहरूमा पनि महिला उपाध्यक्षसहित सदस्यहरूको निश्चित संख्या महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

युवा सहभागितालाई संस्थागत गर्न केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशमा प्रदेश युवा समिति, जिल्लामा जिल्ला युवा समिति र पालिकामा पालिका युवा समिति रहने व्यवस्था गरिएको छ। उपशाखा तहमा समेत महिला उपसभापति र कोषाध्यक्ष अनिवार्य गरिएको छ भने सदस्यमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ।

सोसाइटीले देशभर निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। कार्यतालिका अनुसार वैशाख २६ देखि जेठ ४ गतेसम्म पालिका शाखा, जेठ १५ गते जिल्ला शाखा, असार २ गते प्रदेश समिति तथा प्रतिनिधि छनोट, र असार २४–२५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न गर्ने योजना रहेको छ।