काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी रहेको छ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला किनारमा रहेका घरटहरा हटाउने कार्य भइरहेको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार महानगरपालिका–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य पनि जारी छ। उनका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क तथा देवीनगरलगायत क्षेत्रका अवैध संरचना हटाइँदैछ।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेका जोखिमयुक्त वस्ती हटाइएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजार घरटहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। साथै शहरी विकास मन्त्रालयका अधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहिन परिवारको लगत सङ्कलन कार्य गरिरहेका छन्।