मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

शनिबार, बैशाख १९ २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तीन दशकअघिदेखिका मौका परीक्षा समेत सञ्चालन गर्ने भएको छ। शैक्षिक पात्रो सुधार गर्ने लक्ष्यसहित त्रिविले लामो समयदेखि नियमित हुन नसकेका परीक्षा धमाधम सञ्चालन गरिरहेको हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसका लागि हाल अनियमित भएका सबै परीक्षालाई असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार हाल त्रिविले महिनामा तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन गरिरहेको छ। उनका अनुसार २०५३ सालदेखि बाँकी रहेका केही मौका परीक्षा समेत असारसम्म सम्पन्न गर्नेगरी कार्यतालिका अघि बढाइएको छ।

वैशाख महिनामा मात्रै बिएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। जेठ महिनामा तीनवर्षे स्नातक पहिलो वर्ष, चारवर्षे स्नातक पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष र वि.टेक तेस्रो वर्षका परीक्षा सञ्चालन गर्ने तयारी छ।

त्यसैगरी असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ। पौडेलका अनुसार कोरोना महामारी र जेनजी आन्दोलनका कारण अवरुद्ध भएका परीक्षा समेत अब असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल करिब एक लाख १५ हजार परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन्। त्रिविले परीक्षा सम्पन्न भएको सय दिनभित्र नतिजा प्रकाशित गर्ने व्यवस्था पनि लागू गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।