काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम बुद्धको २५७०औँ जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) यही तिथिमा परेको स्मरण गरिँदै आएको छ। यस दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति श्रद्धा व्यक्त गर्दै पूजा, आराधना र प्रवचन आयोजना गर्ने गरेका छन्।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने सन्देश दिएका बुद्धको योगदानलाई स्मरण गर्दै देशभर शान्तिको कामना सहित कार्यक्रमहरू आयोजना भइरहेका छन्। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा लामा तथा धर्मगुरुहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा गर्ने गरेका छन्।
विशेष गरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूपलगायत स्थलमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ।
इतिहासअनुसार इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले मानिसको दुःख देखेर २९ वर्षको उमेरमा राजदरबार त्याग गरी ज्ञान प्राप्तिका लागि तपस्यामा लागेका थिए ।