बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महानगरको निर्देशनपछि धादिङ र नुवाकोटका बस नयाँ बसपार्कबाट सञ्चालन

बुधबार, बैशाख १६ २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात अब नयाँ बसपार्कबाटै सञ्चालन हुन थालेका छन्।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार यातायात व्यवसायी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय तथा बसपार्क व्यवस्थापन पक्षसँग चरणबद्ध छलफलपछि बस सेवा बसपार्कबाट सञ्चालनमा ल्याइएको हो। व्यवसायीसँग समझदारी गर्दै समय दिएर समस्या समाधान गरिएको उनले बताइन् ।

बसपार्कभित्रबाट सेवा सञ्चालन भएपछि चक्रपथ करिडोरमा हुने अव्यवस्थित पार्किङ समस्या घटेको छ। सडक किनारामा यात्रु चढाउने–ओराल्ने क्रममा हुने दुर्घटनाको जोखिमसमेत कम भएको महानगरको भनाइ छ।

यसअघि २०८२ चैत २५ गते महानगरले सूचना जारी गर्दै लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न आग्रह गरेको थियो। नुवाकोटतर्फका व्यवसायी सम्पर्कमा आए पनि धादिङतर्फका व्यवसायी सम्पर्कमा नआएपछि थप तीन दिनको समय दिइएको थियो।

प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार काठमाडौँबाट दैनिक औसत सात सय सार्वजनिक सवारीसाधन बाहिरिने गरेकामा करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हाल नुवाकोटतर्फका करिब ६५ र धादिङतर्फका करिब ९० सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन भइरहेका छन्।

नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ भने यहाँ ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ।