काठमाडौं। आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिकसत्र २०८३ औपचारिक रूपमा सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको हो ।
यसअघि वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । तर वार्षिक परीक्षा सम्पन्न नहुँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया अघि बढाउने क्रम रोक्न तथा इन्धन आपूर्तिमा देखिने असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले वैशाख १५ गतेबाट मात्र भर्ना र शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको थियो ।
यद्यपि कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअघि नै केही विद्यालयहरूले विद्यार्थी भर्ना गरिसकेका छन् ।
सरकारले गत चैत २२ गते निजी (संस्थागत) विद्यालयहरूले कानुनविपरीत असुल्दै आएको भर्ना शुल्क तथा अन्य अतिरिक्त शुल्क फिर्ता गराउन निर्देशन दिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारित मापदण्डभन्दा बाहिर गएर उठाइएका शुल्क फिर्ता गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरेको थियो ।
यसैबीच, वार्षिक परीक्षाको नतिजा सार्वजनिक नभएको, नयाँ शैक्षिकसत्र सुरु नभएको तथा आवश्यक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा विद्यालयहरूले भर्ना सूचना प्रकाशित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न आदेश दिएको थियो ।
अदालतले परीक्षा नतिजा, शैक्षिकसत्र र प्रमाणपत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायलाई प्रचलित कानुनअनुसार काम गर्न निर्देशन दिएको छ । साथै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरिएको छ ।
मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले यसअघि चैत ५ गते जारी सूचनामार्फत वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि मात्रै नयाँ शैक्षिकसत्र २०८३ को भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो ।