शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेकपाको केन्द्रीय संयोजन समिति बैठक आज, कार्यविभाजन र संगठन विस्तारमा निर्णय हुने

सोमबार, बैशाख १४ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संगठन विस्तारदेखि जिम्मेवारी बाँडफाँटसम्मका महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। सो प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने तयारी गरिएको छ।

बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी, सचिवालय तथा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिन सक्ने जनाइएको छ। साथै, हालै सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन अनुमोदन गर्ने तथा साङ्गठनिक जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावसमेत प्रस्तुत हुने बताइएको छ।

यसअघि वैशाख ३ गते बसेको बैठकमा उठेका प्रश्नहरूको जवाफसहित निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी संयोजक र सह–संयोजकलाई दिइएको थियो। आजको बैठकले त्यसलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।

साङ्गठनिक संरचनाअन्तर्गत प्रदेश इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूमार्फत टुंग्याइने तयारी गरिएको छ। साविक माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्ने गरी जिम्मेवारी बाँडफाँटको मापदण्ड बनाइएको छ।

त्यसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह–इन्चार्ज पाउनेछ भने एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सह–इन्चार्जको जिम्मेवारी लिनेछ।

त्यस्तै, ३२ वटा विभागमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी दुवै पक्षबीच बाँडफाँट गरिने जनाइएको छ।

बैठकले विधानअनुसार १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ। पालिका र जिल्लास्तरको एकता तथा समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई दिने तयारी गरिएको छ।

यसका साथै जनवर्गीय संगठन तथा मोर्चाहरूको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डबारे पनि आजै निर्णय हुन सक्ने बताइएको छ।

पार्टी एकता प्रक्रियालाई पूर्णता दिन ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित वडा तहदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने तथा महाधिवेशनको मिति तय गर्ने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।