काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासी परिवारलाई आइतबार परेको झरीले झन् ठूलो पीडा दिएको छ। बस्ती खाली गराइएपछि खुला ठाउँमा राखिएका उनीहरूका लत्ताकपडा, खाद्यान्न र अन्य सरसामान वर्षाले भिजाएपछि अवस्था झन् दयनीय बनेको हो।
अतिक्रमित बस्ती हटाइएपछि बाहिर राखिएका ओढ्ने–ओछ्याउने कपडा, दैनिक उपभोगका सामग्री तथा खाद्यान्न सबै पानीले भिजेको छ। धेरै परिवारले नयाँ बसोबासका लागि डेरा खोज्न नसक्दा खुला आकाशमुनि बस्न बाध्य भएका छन् भने कतिपयले सामान राख्ने सुरक्षित स्थानसमेत पाएका छैनन्।
स्थानीयवासी कमल अधिकारीका अनुसार केही परिवार पहिले नै अन्यत्र सरे पनि कतिपय अझै सोही क्षेत्रमा बसिरहेका कारण वर्षाले उनीहरूको सम्पूर्ण सरसामान भिजाएको हो। उनले अहिले त्यहाँको अवस्था निकै कष्टकर र दयनीय रहेको बताए।
उनका अनुसार कतिपय परिवारसँग सामान अन्यत्र लैजान सक्ने आर्थिक क्षमता छैन भने केही परिवार काठमाडौँ बाहिरका भएकाले नयाँ डेरा नपाएसम्म सामान त्यहीँ राखेर बस्न बाध्य भएका छन्।
शनिबारदेखि आज दिनभर साना गाडीमार्फत सामान ओसार्ने काम जारी रहे पनि अझै धेरै सामान सार्न बाँकी रहेको मिनीट्रक चालक किशोर तामाङले जानकारी दिए। उनका अनुसार केही परिवारका सामान तीनदेखि चार ट्रिपसम्म हुने भएकाले सबै सामान सार्न समय लागिरहेको छ।
हाल भत्काइएको क्षेत्रमै ठूलो परिमाणमा सामान थुप्रिएको देखिन्छ। ती सामान कुर्न बसेका मानिससमेत वर्षामा भिज्न बाध्य भएका छन्। पर्याप्त त्रिपाल, अस्थायी आश्रय तथा सुरक्षित भण्डारणको व्यवस्था नहुँदा विस्थापित परिवारको समस्या थप जटिल बनेको छ।