मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

वर्षाले बन्द बीपी राजमार्ग पुनः खोल्ने प्रयास

सोमबार, बैशाख १४ २०८३

काभ्रेपलाञ्चोक । शनिबार र आइतबार परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरलगायत निकायले सडक खुलाउने प्रयास गरे पनि पुनः वर्षा भएपछि काम रोकिएको हो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बेलुकासम्म राजमार्ग खुलाउने तयारी भइरहेका बेला आइतबार अपराह्न फेरि वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सन निर्माण कार्य रोकिएको हो। वर्षा नभए सोमबार बिहानदेखि पुनः सडक सञ्चालन गराउन डाइभर्सन निर्माणलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

आइतबार आठ स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गराउने प्रयास गरिएको थियो। तर चारसयबेँसी क्षेत्रमा डाइभर्सन बनाउने क्रममा पुनः वर्षा भएपछि थप काम रोकिएको बताइएको छ।

शनिबार दिउँसो वर्षा सुरु भएलगत्तै सुरक्षा जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन र सुरक्षा निकायले दिउँसो ३ः३० बजेदेखि राजमार्गमा आवागमन बन्द गराएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्डसम्म रोशी खोलामा ठूलो बाढी आएपछि सम्भावित दुर्घटना रोक्न सडक बन्द गरिएको हो।

रोशी खोलाको बाढीले कटुन्जे–मङ्गलटार सडकखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्‍याएको छ। चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती गरी आठ स्थानमा सडक बगाएको जनाइएको छ।

राजमार्ग बन्द भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारीसाधन रोकेर राखिएको थियो। सडक अवरुद्ध हुँदा अलपत्र परेका ६ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुल हुँदै तेमाल गाउँपालिका भएर नमोबुद्ध नगरपालिकाको भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ।

स्थानीयको सहयोगमा यात्रुलाई फलफूल, पानी तथा अन्य पेयपदार्थसमेत वितरण गरिएको थियो।

गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ। हाल सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको छ।