रुकुमपूर्व । शनिबार साँझ परेको वर्षापछि आएको पहिरोका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
भारी वर्षासँगै दर्जनौँ स्थानमा लेदोसहितको पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण अन्य सहायक सडक मार्गसमेत प्रभावित भएका छन्।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीता क्षेत्रमा पहिरो झरेको छ।
यस्तै मुरु क्षेत्रमा दुई स्थानमा पहिरो खसेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिएका छन्। उनले मौसममा सुधार नआएसम्म यात्रा जोखिमपूर्ण हुने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
शनिबार साँझ करिब ६ बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। वर्षासँगै परेको असिनाले गहुँबालीमा समेत क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएको छ।