मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बुटवल गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल सिफारिस, डा. रूपाखेती निलम्बित

आइतबार, बैशाख १३ २०८३

लुम्बिनी । बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलको छानबिन टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। प्रतिवेदनका आधारमा दुई स्वास्थ्य संस्था सिल गर्न सिफारिस गरिएको छ भने डा. सतिश रूपाखेतीलाई तत्कालका लागि निलम्बन गरिएको छ।

काउन्सिलले ७२ घण्टा लगाएर गरेको प्रारम्भिक छानबिनपछि जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको वैशाख ६ गते गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो। प्रारम्भिक तथ्यअनुसार उनी बुटवलस्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकमा उपचारका लागि धाउँदाधाउँदै अन्ततः ज्यान गुमाउन पुगेकी थिइन्।

घटनापछि मेडिकल काउन्सिलले डा. सम्राट पराजुलीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले २६ पृष्ठको प्रारम्भिक प्रतिवेदन तयार गरी काउन्सिललाई बुझाएको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा बसेको जुम बैठकले डा. सतिश रूपाखेतीलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको बताए। उनका अनुसार उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीका लागि सिफारिस गरिएको छ।

उनले चिकित्सकको आचारसंहिता २०१७ अनुसार निलम्बन गरिएको र छानबिनकै क्रममा फौजदारी अभियोगसमेत आकर्षित हुन सक्ने बताए। अन्तिम कारबाही भने विस्तृत प्रतिवेदनपछि मात्र तय हुने जनाइएको छ।

मृतकका पति प्रकाश पाण्डेले घटनालाई नाफामुखी स्वास्थ्य व्यापारको परिणाम भन्दै संलग्न चिकित्सक र सञ्चालकविरुद्ध किटानी जाहेरी दिएका छन्।

छानबिन समितिले कानुनी मान्यता प्राप्त र प्रमाणित संस्थाबाट मात्र गर्भपतन सेवा लिनुपर्ने, १२ हप्ताभन्दा बढीको गर्भपतन जटिल र जोखिमपूर्ण हुन सक्ने भएकाले विशेषज्ञको निगरानी अनिवार्य हुनुपर्ने सुझावसमेत दिएको छ।