काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका अवैध घरटहरा हटाउने अभियानअन्तर्गत हालसम्म करिब ४० प्रतिशत संरचना शान्तिपूर्ण रूपमा हटाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले बल प्रयोग नगरी संरचना हटाउने काम गरिरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यहाँ बसोबास गरिरहेका नागरिकले सरकारको अभियानमा सहयोग गरिरहेका छन् भने सुरक्षाकर्मीले घरटहरा खाली गर्न र सामान सार्न सहजीकरण गरिरहेका छन् । आवश्यक परेकालाई मानवीय सहायता समेत उपलब्ध गराइएको छ ।
सरकारले दुई दिनअघिदेखि जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुम्बासी तथा भूमिहीनलाई आफ्ना सरसामान र पशुचौपाया सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।
थापाथली क्षेत्रमा डोजर, प्राविधिक टोली, एम्बुलेन्स, ट्रक तथा उद्धारकर्मी परिचालन गरिएको छ । धेरैले आफ्नो व्यवस्थापन आफैं गरिसकेका छन् भने सहयोग आवश्यक परेकालाई सरकारले व्यवस्था गरिरहेको प्रशासनले जनाएको छ ।
थापाथलीका विस्थापितलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अस्थायी रूपमा राखिएको छ । त्यहाँ उनीहरूको विवरण संकलन भइरहेको छ । वास्तविक सुकुम्बासी पहिचान भएपछि अस्थायी बसोबासको अर्को व्यवस्था गरिने जनाइएको छ ।
प्रशासनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी, गर्भवती, सुत्केरी, बालबालिकालगायतलाई विशेष सहायता उपलब्ध गराइरहेको जनाएको छ । उपचार आवश्यक परेकालाई अस्पताल पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आज थापाथलीसँगै गैरीगाउँ सिनामंगल क्षेत्रका घरटहरा पनि हटाइने जानकारी दिनुभयो । समय मिले मनोहरा क्षेत्रको अभियान पनि आजै सुरु गरिने उहाँले बताउनुभयो ।
यसैबीच, मनोहरा क्षेत्रका बासिन्दाले पनि घरटहरा छाड्न थालेका छन् । सुरक्षाकर्मीले उनीहरूलाई सामग्री सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् ।