मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आज राष्ट्रिय विभूति सीता जयन्ती, देशभर पूजा आराधना र विशेष कार्यक्रम

शनिबार, बैशाख १२ २०८३

काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं सीता जयन्ती आज देशभर श्रद्धा, भक्ति र पूजा आराधनासहित मनाइँदैछ ।

वैदिक धर्मग्रन्थ, पुराण तथा रामायणमा वर्णन भएअनुसार त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञका लागि खेत जोत्ने क्रममा सीताको उत्पत्ति भएको मान्यता रहेको छ । धर्मशास्त्रविद्हरूका अनुसार भगवान् विष्णुको अवतार श्रीराम जन्मिने भएपछि लक्ष्मी सीताका रूपमा अवतरित हुनुभएको वर्णन विभिन्न ग्रन्थमा पाइन्छ ।

सीतालाई सत्यवती, पतिव्रता तथा आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजकुमार रामसँग विवाह गरेपछि वनवासमा समेत साथ दिनुभएकी सीताले रावणद्वारा हरण हुँदा पनि धर्म र निष्ठा नत्यागेको प्रसंग धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

वनवास, त्याग, धैर्यता र परिवारप्रतिको समर्पणका कारण सीतालाई आदर्श महिलाका रूपमा स्मरण गरिन्छ । लव–कुशलाई शिक्षा दीक्षा दिलाएर योग्य बनाएको प्रसंगले पनि उनको योगदानलाई विशेष महत्व दिएको छ ।

आजको दिन देशभरका रामजानकी मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिएका छन् । जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने परम्परा छ ।

काठमाडौँको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा गरिँदैछ भने नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ९ बजेदेखि विशेष आराधनाको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

सीताको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक योगदानको सम्मानस्वरूप नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूतिको मान्यता दिएको छ ।