काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकलाई भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन, पूर्वतयारी गर्न र सुरक्षासम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।
दसौँ भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक भएकाले सम्बन्धित निकायले जनमानसमा सचेतना अभिवृद्धि गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले विसं २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भूकम्प प्राकृतिक विपत्ति भए पनि यसको सम्भावित जोखिमबाट जोगिन सकिने बताउँदै बढ्दो सहरीकरणका कारण भूकम्पीय जोखिम झन् बढ्दै गएको उल्लेख गरे ।
नेपालको भौगोलिक बनावट, अव्यवस्थित संरचना र मानव निर्मित भौतिक पूर्वाधार जोखिमका प्रमुख कारण रहेको उल्लेख गर्दै उनले सुरक्षित निर्माण, सतर्कता र निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले नवनिर्मित तथा पुनर्निर्मित संरचनामा मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनुपर्ने बताउँदै पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।