काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्।
सार्कको गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको दोस्रो बैठक बिहीबार मालदिभ्सको राजधानी मालेमा सम्पन्न भएको हो। सो बैठकमा प्रतिवेदनका विषयमा साझा सहमति जुटेको सार्क सचिवालयले जनाएको छ।
मालदिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिनुभयो।
सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा मालदिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवर्द्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैंकप्रति आभार व्यक्त गर्नुभयो।
मालदिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदको अध्यक्षतामा बसेको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारी र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।