काठमाडौं । सिन्धुलीमा प्रहरी हिरासतमा दलित युवकको शंकास्पद मृत्यु भएको घटनालाई लिएर संघीय सांसदहरूले जिल्ला प्रशासन कार्यालयको गेटमै अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरू बिहीबारदेखि धर्नामा बसेका हुन्।
घटनासम्बन्धी समाचार सार्वजनिक भएपछि संघीय सांसदहरू तथा अधिकारकर्मीहरू सिन्धुली पुगेर विरोधस्वरूप धर्नामा बसेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले घटनाको निष्पक्ष छानबिन नभएसम्म धर्ना जारी रहने बताएका छन्। उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) लगायत सम्बन्धित प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।
उनले भनेका छन्, “प्रहरी हिरासतमा दलित युवा हत्या प्रकरणमा सीडीओ, एसपी र मातहतका प्रहरी कर्मचारीको निलम्बन, प्रहरीको आन्तरिक उच्चस्तरीय छानबिन, संसदीय छानबिन समिति गठन तथा बलात्कार मुद्दाका जाहेरवालामाथि जातीय हिंसाको कारबाही हुनुपर्छ। घटनाको सत्यतथ्य छानबिन नभएसम्म हामी अनिश्चितकालीन धर्नामा रहनेछौँ।”
उक्त धर्नामा सांसद गणेश बिक, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा र आसिस गजुरेल पनि सहभागी रहेका छन्।