काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढ्दै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ। वर्षासँगै केही समय सुधारिएको वायु गुणस्तर फेरि खस्किँदै जोखिमपूर्ण अवस्थामा पुगेको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मङ्गलबार दिउँसो करिब ९२ रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जनाइएको छ।
एक्युआई मापदण्डअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा मौसम, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। उनका अनुसार वर्षा हुँदा वायुमण्डलमा रहेका धुलो र कणहरू जमिनमा बस्ने भएकाले प्रदूषण घट्ने भए पनि अहिले त्यो अवस्था नभएकाले समस्या बढेको हो।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना छैन। तापक्रम अझै बढ्ने संकेत देखिएको र वर्षा नहुँदा वायु सफा हुन नसक्ने भएकाले प्रदूषण अझै बढ्न सक्ने उनले बताइन्।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरूलाई यस अवस्थाको बढी असर पर्ने भएकाले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।