काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारीलाई तीव्र बनाएका छन्। प्रधानमन्त्री शाहले बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।
बुधबारदेखि गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले सुरक्षा निकाय प्रमुखहरूसँगको बैठकमा काठमाडौं उपत्यकाबाट अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल गरेका थिए।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्ती हटाउने निर्णय कार्यान्वयनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ। आवश्यक समन्वय, जनशक्ति परिचालन तथा सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले भने, “अतिक्रमित सुकुम्बासी बस्ती हटाउने काम अब सुरु गर्नुपर्छ। यही शनिबार र आइतबार काठमाडौंबाटै अभियान सुरु गर्नू। स्थानीय सरकारलाई सरकारले जानकारी गराइसकेको हुनेछ। तपाईंहरू स्थानीय तहसँग समन्वय गरेर सहयोग गर्नू।”
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। तर स्थानीय बासिन्दाको कडा विरोध तथा तत्कालीन सरकारको असहयोगका कारण त्यो अभियान सफल हुन सकेको थिएन।