बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कम्युनिष्ट आन्दोलन पुनर्गठनका लागि प्रचण्डको आह्वान

बुधबार, बैशाख ९ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विगतका संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी नेपाली कम्युनिष्टहरूको काँधमा आएको बताएका छन् ।

दाहालले इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण आवश्यक रहेको उल्लेख गरेका छन् । उनले त्यसकै आधारमा नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि सबैमा हार्दिक आह्वान गरेका छन् ।

उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न तथा शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा विशेष जोड दिएका छन् ।

यसका साथै प्रचण्डले विगतको समीक्षा, वैचारिक संश्लेषण र नयाँ संकल्पसहित वामपन्थी आन्दोलन पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।