बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गृहमन्त्रीमाथि लागेको आरोपबारे सरकारको कदम के हुन्छ ? : भीम रावल

मंगलबार, बैशाख ८ २०८३

काठमाडौं, वैशाख ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले गृहमन्त्री सुधन गुरुङमाथि सार्वजनिक भएका आरोपबारे सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा के हुन्छ भन्ने प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिने दल तथा प्रधानमन्त्री बालेन्द्र शाहले अब के कदम चाल्छन् भन्ने विषयमा नागरिकले चासोका साथ हेरिरहेको बताएका हुन्।

“राज्यको आचरण, अनुशासन र सुरक्षासँग सम्बन्धित अत्यन्त संवेदनशील गृह मन्त्रालयको जिम्मेवारीमा रहेका गृहमन्त्रीबारे सार्वजनिक भएका गम्भीर विषयमा पारदर्शिता र सुशासनका पक्षधरहरूले के गर्लान्, जनता हेर्दैछन्,” रावलले उल्लेख गरेका छन्।

उनले अन्य दलका मन्त्रीमाथि यस्ता आरोप लागेको भए तत्काल पदबाट हटाएर स्वतन्त्र न्यायिक छानबिनको माग हुने भन्दै रास्वपाप्रति कटाक्ष गरे।

गृहमन्त्री गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको आरोपका कारण विवादमा छन्। साथै जेनजी आन्दोलनपछि खरिद गरिएको भनिएको सेयर सम्पत्ति विवरणमा नदेखाइएको आरोपसमेत उनीमाथि लागेको छ।