काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सँग “वास्तविक र पूर्ण कार्यान्वयन हुने” सम्झौता नभएसम्म इरान नजिक तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन् ।
संयुक्त राज्य अमेरिका र इरानबीच दुई साताका लागि भएको युद्धविराम कायम रहँदा पनि ट्रम्पको यस अभिव्यक्तिले वार्तासँगै सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ।
मङ्गलबारको युद्धविरामले द्वन्द्वमा केही विरामको संकेत दिए पनि क्षेत्रीय तनाव भने घटेको छैन। इजरायल ले लेबनान मा आक्रमण जारी राख्नु र इरानका केही माग अस्वीकार गर्नुले परिस्थिति अझ जटिल बनेको छ, जसले आगामी वार्तामा असर पार्ने देखिएको छ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरान वरपर तैनाथ अमेरिकी जहाज, विमान र सैन्य जनशक्ति आवश्यक हतियारसहित यथास्थानमै रहने बताएका छन्। उनले “दुश्मनको क्षमतामा ठूलो क्षति पुगिसकेको” दाबी गर्दै सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सैन्य तयारी कायम रहने बताएका छन्।
यद्यपि, उनले सम्झौता हुने सम्भावना “अत्यन्तै कम” रहेको टिप्पणी गर्दै असफल भए अझ सशक्त आक्रमणमा फर्किने चेतावनी पनि दिएका छन्।
यसबीच इरानले युद्धविराम अवधिमा महत्त्वपूर्ण समुद्री मार्ग खुला राख्न सहमति जनाए पनि आफ्नो नियन्त्रण कायम रहने स्पष्ट पारेको छ। विशेषगरी होरमुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, जहाँबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने गर्दछ।
इरानले सम्भावित सम्झौतामा आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिन आग्रह गरेको जनाइएको छ, तर संयुक्त राष्ट्रसङ्घमार्फत प्रस्तुत औपचारिक प्रस्तावमा यो विषय समावेश नभएको बताइएको छ।
आगामी वार्तालाई लक्षित गर्दै ट्रम्पले अन्तिम सम्झौतामा इरानसँग आणविक हतियार नहुने र होरमुज जलडमरूमध्य सुरक्षित तथा खुला रहने सुनिश्चित गरिने दोहोर्याएका छन् ।