बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठन बनाउने प्रहरी महानिरीक्षकको योजना

बिहिबार, साउन २३ २०७६

काठमाडौं साउन, २३–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताएका छन्  ।  नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया  कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । 
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासहरु र समुदाय—प्रहरी साझेदारी कार्यक्रमबारे जानकारी गराए । विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको उनले बताए कर्मचारीको वृत्ति विकास, आर्थिक सुशासन, भौतिक पूर्वाधार विकास, निस्शुल्क जग्गा प्राप्ति समेतका उपलब्धीबारे उनले उल्लेख गरे । नीतिगत तथा कानुनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्रा्ष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धी हासिल गरेको समेत उनको भनाइ थियो । समुदाय(प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उनले यस अवधारणा संस्थागत होस् भन्ने धारणा समेत व्यक्त गरे । 
प्रहरी महानिरिक्षक खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्दारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए । उनले सूचना प्रविधि, बेरुजु फर्छ्यौट लगायतका क्षेत्रमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय पुरष्कार प्राप्त भएबाट नेपाल प्रहरीको अन्तर्रा्ष्ट्रिय ख्याति बढेको विचार व्यक्त गरे । 
अन्तरक्रिया कार्यक्रममा उक्त संगठनका पदाधिकारीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सहभागीहरुद्वारा राखिएका जिज्ञासा र सुझाव मननयोग्य रहेको बताए । नीतिनिर्माण गर्ने कुरामा संगठनकोतर्फबाट गरिने कार्य कुनै कसर बाँकी नराखी अगाडि बढ्ने दृढ विश्वाउस उनले व्यक्त गरे  । विज्ञको हिसाबले अगाडि बढ्दै पूर्व प्रहरी कर्मचारी संवाहकको रुपमा भइदिनुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी संगठन विस्तार र सुदृढिकरणका प्रयासप्रति पूर्व प्रहरी कर्मचारीहरुको दृष्टिकोण र रचनात्मक सुझावको अपेक्षा गरिएको बताए । 
कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका संरक्षक पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्न नीति ल्याएको साथै प्रभावकारी र प्रशंसनीय काम गरेको प्रति खुसी व्यक्त गरे । यस्ता अन्तरक्रिया कार्यक्रमले आपसी सम्बन्ध राम्रो हुने र विश्वास बढ्ने समेत उहाँले उल्लेख गरे । 
सो अवसरमा नेपाल पूर्व प्रहरी संगठनका राष्ट्रिय अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले हाल नेपाल प्रहरीले भौतिक विकास, प्रशासन, समाजमा जाने लगायत वास्तविक पुलिसिङको क्षेत्रमा गरेका काम अकल्पनीय र इतिहासमै उत्कृष्ट साबित भएको बताए । उक्त संगठनकोतर्फबाट विविध सुझाव प्रस्तुत गर्दै अध्यक्ष कुँवरले नेपाल पूर्व प्रहरी संगठन नेपाल प्रहरीका कार्यक्रमलाई सफल पार्न रचनात्मक सहयोग गर्न तत्पर  रहेको बताए । 
उक्त अवसरमा नेपाल प्रहरीका गतिविधि, साधनस्रोत, नीति निर्माणमा नेपाल प्रहरीको भूमिका, कार्यक्षेत्र, समुदाय(प्रहरी साझेदारी कार्यक्रम, नेपाल प्रहरी र नेपाल पूर्व प्रहरी संगठनबीच सहकार्य गर्न सकिने क्षेत्र लगायतका विषयमा सहभागीहरुले विविध जिज्ञासा एवं सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चुनौति र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाएर लैजान निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो । 
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, बरिष्ठ प्रहरी अधिकृतहरु साथै नेपाल पूर्व प्रहरी संगठनका विद्वत स्रोत व्यक्तिहरु तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।