शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

देउवाद्वारा प्रतिनिधिसभा निर्वाचन अघोषित बहिष्कार

बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई अघोषित रूपमा बहिष्कार गरेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।   पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्ने विषयमा समेत स्पष्ट देखिएका छैनन् ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि र निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि उनी सक्रिय राजनीतिबाट टाढिँदै गएको आकलन गरिएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट समेत अन्तरिम आदेश नआएपछि देउवाले अन्तिमपटक ‘रूख’ चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए। तर हालका सभापति गगन थापाले टिकट नदिएपछि उनी निर्वाचन प्रक्रियाबाट बाहिरिएको बताइएको छ।

पार्टीका केही पदाधिकारीले देउवालाई चुनावी अभियानमा सहभागी हुन आग्रह गरे पनि उनी सकारात्मक नभएको स्रोतको दाबी छ। पार्टी प्रवक्ता देवराज चालिसेले भने पूर्वसभापति देउवालाई उम्मेदवार जिताउने अभियानमा जोड्ने प्रयास जारी रहेको जानकारी दिएका छन्।

यता देउवाको सचिवालयले भने हालसम्म कसैसँग औपचारिक भेटघाट वा चुनावी प्रचारबारे छलफल नभएको स्पष्ट पारेको छ। स्वास्थ्य तथा सुरक्षाको कारण यसपटक मतदानका लागि गृहजिल्ला डडेल्धुरा जाने सम्भावना पनि कम रहेको उनीनिकट नेताहरूले बताएका छन्।

उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । महरले देउवाको फोटो राखेरै आफ्नो चुनाव प्रचार गरिरहेका छन् ।