दमक। निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले मा प्रवेश गर्नेहरूको लहर बढ्दै गएको छ। यसैक्रममा झापाको क्षेत्र नं. ५ अन्तर्गत दमक–४ बाट ३ सय ५० जनाभन्दा बढी व्यक्ति विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।
बुधबार दमक–४ को धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न राजनीतिक दल छाडेर उनीहरू एमालेमा समाहित भएका हुन्। पार्टी प्रवेश गर्नेहरूलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले स्वागत गरे।
नवप्रवेशीहरूले विगतमा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यस क्षेत्रको विकास भएको र आगामी दिनमा पनि विकासको अगुवाइ गर्न उनीबाहेक अरू सक्षम नभएको निष्कर्षसहित एमाले रोजेको बताएका छन्।
यसअघि पनि रास्वपाका क्षेत्रीय नेतासहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन्।