शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बालेनलक्षित हर्कको टिप्पणी : २५ अर्ब बजेटको काठमाडौंमा पानी व्यवस्थापन गर्न नसक्नेले अब धरानमा पानी खुवाउने रे !

“किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो? सुकुम्वासीका बारेमा के गर्ने रे-डोजरले?”

बुधबार, फाल्गुन १३ २०८२

काठमाडाैं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आयोजना गरेको कोशी प्रदेशस्तरीय आमसभालाई लक्षित गर्दै सहकारी पीडित र एमसीसीबारे प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सम्बोधन गर्दै सभामा सहकारी पीडितका विषयमा के धारणा राखियो भनेर जिज्ञासा राखेका हुन्।

साम्पाङले लेखेका छन्, “१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा ‘नो एमसीसी’ भन्ने हिम्मत भयो कि भएन? ७४ लाख सहकारी पीडितहरूको विषयमा बोलियो कि नाइँ?”

उनले रास्वपाको अघिल्लो आन्दोलनको सन्दर्भ जोड्दै ‘सिंहदरबार जलाएको औचित्य पुष्टि भयो कि भएन’ भन्दै समेत प्रश्न गरेका छन्।

त्यस्तै, किसान र मजदुरका विषयमा पनि टिप्पणी गर्दै उनले लेखेका छन्, “किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो? सुकुम्वासीका बारेमा के गर्ने रे—डोजरले?”

इटहरी सभामा रास्वपाका वरिष्ठ नेता शाहले धरानको खानेपानी समस्या आफूहरू सरकारमा गएपछि समाधान गर्ने बताएका थिए। उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने योजना प्रस्तुत गर्दै त्यसका लागि करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने दाबी गरेका थिए।

शाहले वर्तमान सरकारमाथि प्रश्न उठाउँदै भनेका थिए, “अहिलेको सरकारले गर्‍यो कि गरेन? जनप्रतिनिधिको पहुँच पुग्यो कि पुगेन?”

यसै सन्दर्भमा साम्पाङले काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्बभन्दा माथि हुँदासमेत राजधानीवासीलाई पर्याप्त पानी उपलब्ध गराउन नसकेको आरोप लगाउँदै व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, “काठमाडौंको बजेट २५ अर्ब माथिको हुँदा समेत काठमाडौंवासीलाई पानी खुवाउन नसक्नेले अब धरानमा पानी खुवाउने रे! पाइप पनि तानिसकियो, अब के तान्ने होला?”

रास्वपाले हिजो सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा आयोजना गरेको थियो। साम्पाङको टिप्पणीपछि धरानको खानेपानी समस्या, सहकारी पीडित र एमसीसीजस्ता विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएका छन्।