पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले आज बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुनेगरी कर्फ्यू लगाइएको जानकारी दिए।
कर्फ्यू अवधिमा तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै शान्ति–सुरक्षा कायम गर्न कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
