काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् ।
किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको उल्लेख गर्दै उनले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आन्दोलनमा होमिएको स्मरण गरे ।
उनका अनुसार पञ्चायत अन्त्य नभएसम्म जेल, यातना वा कुनै पनि दमनले आफूलाई विचलित बनाउन नसकेको दाबी गरे। “जेल परियोस्, हत्कडी लगाओस्, यातना दिओस्, जे भए पनि पञ्चायत र राजतन्त्र फालेरै छाड्छु भन्ने संकल्पका साथ अघि बढेँ,” उनले भने।
ओलीले नेकपा एमालेलाई सानो आधारबाट निर्माण गरी देशको प्रमुख शक्ति बनाएको उल्लेख गर्दै दुई तिहाइ हैसियतसम्म पुर्याएको दाबी पनि गरे। तर उक्त सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलन कमजोर बनाएको उनको गुनासो थियो।
आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले गलत वा नराम्रो कुरामा कहिल्यै जिद्दी नगर्ने, सही कुरामा मात्रै अडिग रहने बताए। “संघर्षशील जिन्दगी रमाइलो हुँदैन, तर सही कामका लागि गरिएको संघर्षको अन्त्य सुखद् हुन्छ,” उनले तर्क गरे ।
उनले दुई तिहाइको पार्टी फुटाइनु देशलाई नै कमजोर बनाउने कदम भएको टिप्पणी पनि गरे । राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको उनको भनाइ थियो।
ओलीले यी धारणा पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरेका हुन्।