काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने तथा शान्ति–सुरक्षामा असर पार्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
ओमप्रकाश अर्यालको अध्यक्षतामा, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुख र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा आइतबार बसेको बैठकले देशभरको शान्ति–सुरक्षा अवस्था, निर्वाचन तयारी र समसामयिक चुनौतीबारे समीक्षा गरेको हो।
बैठकमा विभिन्न जिल्लामा देखिएका निर्वाचन विरोधी गतिविधिबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। राजनीतिक दल र व्यक्तिविरुद्ध लाञ्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलापमार्फत शान्ति सुव्यवस्थामा अवरोध पुर्याउने घटनालाई मन्त्रालयले निन्दनीय ठहर गरेको छ।
मन्त्रालयका अनुसार यस्ता गतिविधि कानुनद्वारा निषेधित र दण्डनीय भएकाले संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ। साथै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था थप सुदृढ पारिने जनाइएको छ।