शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

याे निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिबीचको लडाइँ हाे : अध्यक्ष ओली

'देश विभाजित गर्न खोज्ने तत्वहरूविरुद्ध ढाल बनेर उभिएकै कारण आक्रमण'

आइतबार, फाल्गुन १० २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको लडाइँ’ भएको बताएका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे ।

उनले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको उल्लेख गर्दै देशको भविष्य सुरक्षित राख्ने शक्ति एमाले नै भएको जिकिर समेत गरे । आफ्ना पुराना सहयात्रीहरू हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका नेताहरूको योगदानको स्मरण गर्दै उनले पार्टीको लामो संघर्ष र अनुभव नै देश निर्माणको आधार भएको बताए ।

निर्वाचन बिथोल्ने प्रयासको विरोध

अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए। “अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलिई विजयको तयारीमा लाग्छौँ,” उनले भने

विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित गतिविधि गरेर चुनावी वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचनविरुद्धको अपराध भएको बताए ।

 एमाले सरकारका उपलब्धि

आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको चर्चा गर्दै ओलीले हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँ पुर्‍याएको, साक्षरता दरमा वृद्धि र ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास जस्ता उपलब्धि प्रस्तुत गरे ।

“हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपर्थ्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन्,” उनले भने। दुर्गम क्षेत्रका सुत्केरी तथा गम्भीर बिरामीको हेलिकप्टरमार्फत उद्धारको व्यवस्था सुरु गरिएको दाबी पनि उनले गरे।

व्यक्तिगत निष्ठा र राष्ट्रियता

आफूमाथि भइरहेको आलोचनाबारे प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले देशको हितमा उभिएकै कारण आफू निशानामा परेको बताए। “मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन,” उनले दृढता व्यक्त गरे ।

मिचिएको भूभाग फिर्ता ल्याउने पहल र उत्तरी नाका खोल्ने प्रयासका कारण आफूविरुद्ध प्रहार भइरहेको दाबी उनले गरे । देशलाई जात, धर्म र भूगोलका आधारमा विभाजित गर्न खोज्ने तत्वहरूविरुद्ध आफू ढाल बनेर उभिएको उनको भनाइ थियो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधारविहीन ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूधजस्तै उम्लिएको टिप्पणी गरे । एउटा पालिका चलाउन असफल भएकालाई देश चलाउने जिम्मा दिन नसकिने उनको भनाइ थियो।

देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको उल्लेख गर्दै सफल र सक्षम शक्तिलाई मत दिनुपर्ने उनले बताए। देशको एक–एक इन्च भूमि जोगाउने प्रतिबद्धता व्यक्त गर्दै एमाले कठपुतली राजनीति नगर्ने पार्टी भएको उनले स्पष्ट पारे ।

अध्यक्ष ओलीले राज्य र उम्मेदवारहरूले ठूलो धनराशि खर्च गरिसकेको भन्दै निर्धारित समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचन स्थगित हुने हल्लाका बीच एमाले अल्मलिन्ने पक्षमा नरहेको र जितका लागि पूर्ण तयारीमा जुटिसकेको उनको भनाइ थियो।