काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्।
भद्रपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाले चुनाव नजित्ने निष्कर्षमा पुगेपछि विभिन्न हत्कण्डा अपनाउन थालेको दाबी गरे। आफ्नो पक्षमा नतिजा आए चुनाव लड्ने तर अर्काको पक्षमा जाने देखिए चुनाव हुन नदिने प्रवृत्तिमा रास्वपा देखिएको उनको भनाइ थियो।
“रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालिसकेको छ। त्यसकारण अरूको झण्डा जलाउने, नानाथरी बखेडा झिक्ने, असहज परिस्थिति सिर्जना गर्ने र तनाव बढाएर चुनाव भाँड्ने प्रयास भइरहेको अनुमान गर्न सकिन्छ,” ओलीले भने। उनले सधैँ शान्तिपूर्ण वातावरणमा निर्वाचन हुनुपर्ने अडान राख्दै सबै दलले जिम्मेवारीबोध गर्नुपर्ने उल्लेख गरे।
यसैबीच, एमालेले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा हुनेमा आशंका व्यक्त गरेको छ। पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मुलुक भय र सन्त्रासतर्फ उन्मुख भइरहेको दाबी गरे ।
सरकारले शान्ति–सुरक्षाको प्रभावकारी वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले एमालेको झण्डा जलाउने र पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र पारिएको भन्दै आपत्ति जनाए।
एमालेले रास्वपालाई लक्षित गर्दै विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिह्न जलाउने, अशान्ति फैलाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। “चुनावी परिणाम आफ्नो पक्षमा नआउने भएपछि रास्वपा विभिन्न हत्कण्डा अपनाउँदै चुनाव भाँड्ने प्रयासमा लागेको पुष्टि भएको छ,” शाहीले भने।
एमालेले मुलुकभर देखिएका यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ।