शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गौरमा कर्फ्यु आदेश कायमै, बिहान दुई घण्टा मात्र खुकुलो

आइतबार, फाल्गुन १० २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशलाई आज पनि निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश जारी नभएसम्म कर्फ्यु कायम रहने जानकारी दिएका छन्।

प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म दुई घण्टा कर्फ्यु खुकुलो बनाएको छ। त्यसपछि बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यु लागू हुने सूचनामा उल्लेख छ।

शनिबार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यु आइतबार बिहान ६ः३० बजेसम्म निरन्तर जारी राखिएको थियो। त्यसपछि सीमित समयका लागि सहुलियत दिइए पनि स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म कडाइ जारी रहने प्रशासनले स्पष्ट पारेको छ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदाय प्रार्थनामा रहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। उक्त विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएपछि अन्य वडाहरूमा समेत तनाव फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

झडपका क्रममा प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र दुई वटा जिपमा आगजनी गरेका थिए। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले सेना परिचालन गर्दै कर्फ्यु घोषणा गरेको थियो।

हाल कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गर्दै कर्फ्यु उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।