काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनको सचिवालयले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
सचिवालयले बिना कुनै ठोस आधार प्रसाईंलाई पक्राउ गरिएको दाबी गर्दै यस कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि आघात पुगेको आरोप लगाएको छ। जारी विज्ञप्तिमा सरकारमाथि राज्य शक्तिको दुरुपयोग गरी अभियान र प्रसाईंले उठाएका जनताका मागहरूलाई दबाउन खोजिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि प्रसाईंको ससम्मान रिहाइका लागि पटक–पटक शान्तिपूर्ण आग्रह गरिए पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।
घोषणाअनुसार फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ। साथै उद्योग, कलकारखाना र विद्यालयहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको छ। बन्दका क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिने पनि जनाइएको छ।