शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था : अध्यक्ष दाहाल

बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र सुदृढीकरण गर्दै लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी तथा जनउत्तरदायी बनाउने प्रतिबद्धतामै प्रजातन्त्र दिवसको सार्थकता रहेको बताएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् एक महत्त्वपूर्ण संस्था भएको उल्लेख गर्दै उनले राष्ट्रियसभाले नीतिनिर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारको संरक्षण तथा राष्ट्रिय हितका विषयमा निरन्तर भूमिका खेल्दै आएको बताएका छन् ।

विसं २००७ सालको राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष दाहालले देशको अग्रगामी परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसङ्घर्ष तथा जनआन्दोलनमा योगदान गर्ने सबै योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले फागुन ७ लाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको सुरुआत भएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्। प्रजातन्त्र दिवस मनाउँदै गर्दा जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा संविधानसभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता तथा देशको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।