शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र समृद्ध राष्ट्र निर्माणतर्फ सबै सचेत र सक्रियतापूर्वक अघि बढ्न एमाले अध्यक्ष ओलीको आग्रह

बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै वर्तमान सन्दर्भमा तीन महत्वपूर्ण जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले आजको दिनले तीन प्रमुख दायित्व सम्झाउने उल्लेख गरेका छन्। पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने; दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्य–मान्यतालाई जीवित राख्ने; र तेस्रो, विभिन्न विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्ने।

अध्यक्ष ओलीले प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी ल्याएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन्। उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू — शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ — प्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् ।

उनले यस ऐतिहासिक दिनबाट प्रेरणा लिँदै राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र समृद्ध राष्ट्र निर्माणतर्फ सबै सचेत र सक्रियतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ।