काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान प्रकट गर्नुभएको छ। प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले अपेक्षा गरेको सुशासन तथा तीव्र विकासको मार्ग पहिल्याउन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। उनले निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबैमा अपिल गरे।
विसं २००७ सालको क्रान्ति सफल भई निरङ्कुश शासन अन्त्य गरेर मानवअधिकार र नागरिक स्वतन्त्रता स्थापित भएको ऐतिहासिक उपलब्धिको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको उल्लेख गर्दै उनले यस दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा स्मरण गरेका छन्।
लामो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जननिर्मित संविधानको आधारशिला २००७ सालको क्रान्ति नै भएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्वलाई सुदृढ बनाउने र सहिदहरूको अमर गाथालाई सदैव सम्झाइरहने बताएका छन् ।
सन्देशमा उल्लेख छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो। लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव र समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनेछ। जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ।”
राष्ट्रपति पौडेलले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएको उल्लेख गर्दै उक्त लक्ष्य प्राप्तिका लागि सबैलाई सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।