काठमाडौँ । निर्वाचन हुन १५ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न सबै पक्षलाई आग्रह गरेको छ। आयोगले प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई नै धराशायी बनाउन सक्ने जोखिम औँल्याउँदै गम्भीर बन्न ध्यानाकर्षण गराएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी तयार गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ। उहाँले मतदान हुनुअघि मतदाताको धारणा वा कुराकानीका आधारमा हार–जीतको अनुमान सार्वजनिक गर्ने तथा मत सर्वेक्षणको नतिजा प्रकाशन गर्ने कार्य नगर्न सञ्चार माध्यमलाई सचेत गराएका छन्।
उनले भने, “हालैका केही अभ्यासमा मतदान अघि नै मतदाताको धारणा संकलन गरेर हार–जीतको अनुमान गर्ने वा मत सर्वेक्षणका नतिजा सार्वजनिक गर्ने गरिएको देखिएको छ। यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”
आयोगका अनुसार, निर्वाचन आचारसंहिता, २०८२ले मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित पार्ने कुनै पनि गतिविधि निषेध गरेको छ। मतदानअघि नै नतिजाको अनुमान सार्वजनिक गर्दा उम्मेदवारलाई हतोत्साही बनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरणमा खलल पुग्ने जोखिम रहने आयोगको भनाइ छ।
प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाह सहज भए पनि त्यसको दुरुपयोगले भ्रम फैलाउने, मतदातालाई प्रभावित पार्ने र निर्वाचन प्रक्रियामाथि अविश्वास सिर्जना गर्ने सम्भावना रहेको आयोगले जनाएको छ। त्यसैले सामाजिक सञ्जाल, सञ्चार माध्यम तथा सम्बन्धित सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न आयोगले विशेष आग्रह गरेको छ।