काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति आपत्ति जनाउँदै प्रसाईंको पक्राउलाई अलोकतान्त्रिक व्यवहारको संज्ञा दिएका छन्।
उनले लेखेका छन्, ‘रातको समयमा दुर्गा प्रसाईं लाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ। बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ।’
प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। घटनापछि प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा ‘प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस्’ भन्ने माग दोहोर्याएका छन्।
राप्रपाले उक्त घटनालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार व्यवहार गर्न आग्रह गरेको छ।