शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

महाशिवरात्रि: पशुपतिनाथमा चार प्रहर पूजा सम्पन्न, लाखौँ भक्तजनको दर्शन

सोमबार, फाल्गुन ४ २०८२

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबार साँझदेखि सोमबार बिहानसम्म भक्तजनको उल्लेख्य भीड देखिएको छ। जाडो र चिसो मौसमका बाबजुद झिलिमिली बत्तीले सिंगारिएको पशुपति क्षेत्र रातभर श्रद्धालुले भरिएको थियो।

पशुपति क्षेत्र विकास कोष का अनुसार महाशिवरात्रिका कारण मन्दिर रातभर खुला राखिएको थियो। मूल सडकबाट प्रवेश गर्ने मुख्य ढोका पनि बन्द नगरिएको जनाइएको छ। आइतबार सूर्यास्तपछि सुरु भएको चार प्रहरको विशेष पूजा सोमबार बिहान ६ बजाअघि सम्पन्न भएको थियो।

कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार राति १० बजेपछि पनि मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजनको लाम कायम थियो। विगत वर्षहरूमा राति ढोका बन्द गरेर पूजा समापन गरिने भए पनि यस वर्ष अत्यधिक भीडका कारण ढोका बन्द नगरिएको बताइएको छ। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना र दर्शन गरेका छन्।

गोकर्णेश्वरमा पनि हजारौँको भीड

भक्तजनका कारण जम्मा भएको फोहर सोमबार बिहान सफा गरिने जनाइएको छ। वाग्मती सुन्दरता सरोकार मञ्च को नेतृत्वमा मन्दिर क्षेत्र सरसफाइ गरिने भएको छ। मञ्चले गुह्येश्वरीमाथिको वाग्मती क्षेत्रमा नियमित सफाइ अभियान सञ्चालन गर्दै आएको छ।

नागेश्वर र बाणेश्वरमा पनि लामो लाइन

नागेश्वर महादेव मन्दिर मा आइतबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो, जुन रातिसम्म जारी रह्यो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजा र रुद्राभिषेक सम्पन्न गरिएको थियो।

महाशिवरात्रिमा नागेश्वर र बाणेश्वरको दर्शन गर्दा मुद्दामामिलाबाट मुक्ति र श्रीप्राप्ति हुने धार्मिक विश्वाससमेत रहेको बताइएको छ।

राजधानीसहित देशभरका शिवालयमा पनि रातिसम्म भक्तजनको चहलपहल कायम रह्यो। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी तिथिमा पर्ने महाशिवरात्रि पर्व मध्यरात विशेष रूपमा मनाइने गरिन्छ।