काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धार्मिक तथा सांस्कृतिक पर्वहरूले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।
महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वहरूले नेपालको मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे।
सभापति थापाले महाशिवरात्रिलाई हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने पवित्र पर्वका रूपमा उल्लेख गर्दै यसले धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राखेको बताए।
उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै महाशिवरात्रिलगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
महाशिवरात्रिको अवसरमा उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।