सुर्खेत । जाजरकोटमा बाख्रा चराउन जङ्गल गएका एक जनाको ढुङ्गा लागेर मृत्यु भएको छ।
चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई तत्काल अस्पताल पुर्याइए पनि ज्यान जोगाउन सकिएन।
घटनामा घाइते भएका रोकायको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
स्थानीयवासी बेगवान बस्नेतका अनुसार घटनापछि तत्काल उद्धार गरी अस्पताल लगिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।