काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १८ दिन मात्र बाँकी रहँदा आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ।
निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत विशेष कार्यक्रमअन्तर्गत आयोगले मतदाता शिक्षा अभियान सञ्चालनमा ल्याएको हो। कार्यक्रम फागुन १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।
आयोगका अनुसार प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकले घरदैलो तथा बस्तीस्तरमै पुगेर नमूना मतपत्रमार्फत मतदानको प्रक्रिया, मताधिकारको महत्व तथा सही तरिकाले मत हाल्ने विधिबारे जानकारी दिनेछन्।
आयोगले प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउने विश्वास व्यक्त गरेको छ।
मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउन सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सम्पूर्ण सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणका लागि आयोगले आग्रह गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।