काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन २१ दिन बाँकी रहँदा निर्वाचन आयोगले नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरी सार्वजनिक गरेको छ।
आयोगले लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली, मतदान प्रक्रिया लगायत विषय समेटेर सामग्री तयार गरेको जनाएको छ। साथै मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था तथा निर्वाचन र राजनीतिक दलको भूमिकासम्बन्धी विषय पनि स्रोत सामग्रीमा समावेश गरिएको छ।
निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सबैको पहुँचका लागि आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार ती सामग्रीको आधारमा सरकारी तथा नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्। आगामी फागुन १ गतेदेखि मतदाता शिक्षालाई थप तीव्रता दिने आयोगको तयारी रहेको जनाइएको छ।