बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खोकनामा अझै पेलिन्छ शुद्ध तोरीको तेलः तीन सय वर्षे काठको कोलले जोगाइरहेको परम्परा

आइतबार, माघ २५ २०८२

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि अझै परिचित छ। खोकनाको नाम सुन्नासाथ धेरैको मनमा यहाँको शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ। करिब तीन सय वर्ष पुरानो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि सञ्चालनमा रहेकाले खोकनाको पहिचान जीवित रहेको स्थानीय बताउँछन्।

ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सञ्चालनमा छ। तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छन्। महर्जनका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशमा मात्र नभई विदेशसम्म पनि पठाइन्छ।

मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए। समयसँगै तीमध्ये तीन मिल बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ। बाँकी तीन मिललाई पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ।

खोकनामा शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका छन्। खोकना प्रवेश गर्नासाथ आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यवसायिक मिल र साइनबोर्ड देखिन्छन्।

खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार हाल खोकनामा १०–१५ वटा तेल मिल सञ्चालनमा छन्। पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिन्थ्यो, तर लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायी आधुनिक मिल प्रयोग गर्न थालेका छन्।

पहिले खोकनाका स्थानीय आफैं तोरी उत्पादन गर्थे, तर अहिले तोरीखेती घटेको छ। डङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म जान्थे। अहिले नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन भइरहेको छ।