शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमी वायुको आंशिक प्रभावः पहाडमा बादल, तराईमा हुस्सु

आइतबार, माघ २५ २०८२

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा बादल लाग्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।