काठमाडौँ । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
पछिल्लो समय उपत्यकाका विभिन्न क्षेत्रमा अत्यधिक आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार–डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाइने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो। सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आइटी ग्यारेजमा चेकजाँच गर्दा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
जाँचका क्रममा ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको थियो, जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र नभई मानव स्वास्थ्यमा पनि गम्भीर नकारात्मक असर पार्ने बताए। “अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुन्छन्,” उनले भने, “त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ।”