बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चलचित्र ‘कुमारी’ हेरेका दर्शकले गरे प्रशंसै प्रशंसा, देशभर प्रदर्शनमा सुखद सुरुवात

शुक्रबार, माघ २३ २०८२

काठमाडौं। लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ’कुमारी’ आज (शुक्रवार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ।

करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ । काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन् । उल्लेखनीय कुरा के छ भने यस चलचित्रले बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । पहिलो शो हेरेर निस्किएका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन् । दर्शकले नेपाली प्रेमकथामा बनेका चलचित्रहरूमा ’कुमारी’ उत्कृष्ट मध्ये एक रहेको प्रतिक्रिया दिएका छन् । चलचित्र युनिट कलाकारहरूसहित बिहानै देखि हलमा दर्शक भेटी प्रतिक्रिया लिइरहेका छन्। प्रतिक्रियाबाट टिम उत्साहित देखिएको छ।

प्रेम कथानक चलचित्र निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ । यसै चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन् । चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ । विकास सुवेदीको लेखन रहेको ’कुमारी’ मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको यो चलचित्रले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।