काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा भएको भीषण बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको छ ।
आज जारी शोक विज्ञप्तिमा सभापति थापाले दुर्घटनाको खबरले आफूलाई अत्यन्तै मर्माहत तुल्याएको उल्लेख गरे। उनले पीडादायी यस घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । साथै, शोकाकूल परिवारजनप्रति पार्टी तथा व्यक्तिगत रूपमा गहिरो समवेदना व्यक्त गरेका छन्।
सभापति थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा आठ जनाको घटनास्थलमै र पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।